२०८३ असार २६ गते शुक्रवार | 2026 July 10th Friday

३२ वर्षीया सुनीताको रहस्य खुल्दा सिंगो गाउँ स्तब्ध : यतिसम्म गर्न भ्याइन, विश्वास लाग्दैन्

काठमाडौं । मोरङको बेलबारी नगरपालिका–२, सिंहदेवी टोलमा खानामा विष मिसाइएपछि एक वृद्ध महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर बिरामी परेका छन्। ७७ वर्षीया इन्द्रमाया राईको उपचारका क्रममा मृत्यु भएको हो भने ७० वर्षीय भक्तबहादुर राई हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत छन्।

स्थानीयका अनुसार शनिबार दिउँसो भक्तबहादुर राई घर नजिकैको खोल्सामा बेहोस अवस्थामा फेला परेपछि उद्धार गरी घर ल्याउँदा उनकी पत्नी इन्द्रमाया समेत बेहोस भेटिएकी थिइन्। दुवैलाई अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा खानामा विष मिसाइएको खुलेको प्रहरीले जनाएको छ। घटनास्थल नजिकैको खोरमा तीन वटा कुखुरा मृत फेला परेपछि विष सेवनको आशंका थप बलियो बनेको थियो।

घटनामा संलग्न रहेको आरोपमा ३२ वर्षीया भतिजी बुहारी सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनले खानामा विष मिसाएको र प्रयोग गरिएको विषको बट्टा अँगेनामा जलाएको बयान दिएकी छन्। जलेको अवस्थामा उक्त बट्टा बरामद गरिएको छ।

प्रहरीले पोस्टमार्टम, फरेन्सिक परीक्षण तथा प्रयोगशाला रिपोर्ट आएपछि मात्र विषको प्रकार र घटना कारण पुष्टि हुने जनाएको छ। सुनीताविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गर्दै थप अनुसन्धान भइरहेको छ। पारिवारिक कलह घटनाको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस