२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

पशुपतिमा मागिरहेको फ्रान्सेली नागरिक उद्धार, स्वदेश फिर्ता प्रक्रिया सुरु

प्रकाश काफ्ले / काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा भिख मागिरहेको अवस्थामा भेटिएका एक फ्रान्सेली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ताको प्रक्रिया सुरु गरिएको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सक्रिय युवाहरूको पहलमा उनलाई उद्धार गरी प्रहरी वृत्त गौशालामा बुझाइएको हो।

प्रहरी, जिल्ला प्रशासन र अध्यागमन विभागको समन्वयमा ती नागरिकलाई आवश्यक प्रक्रिया अघि बढाइएको छ। हाल उनलाई अध्यागमन विभागको जिम्मामा राखिएको छ भने प्रक्रिया पूरा नहुँदासम्म बस्ने–खाने व्यवस्था फ्रान्सेली राजदूतावासले गर्ने जनाएको छ।

उद्धार गरिएका व्यक्ति ५५ वर्षीय फ्रान्क रेने इभ्स नोन्नामोर रहेको खुल्न आएको छ। उनी सन् २०१४ मा पहिलो पटक नेपाल आएका थिए र त्यसपछि पटक–पटक नेपाल आवतजावत गर्दै नुवाकोटमा बस्दै आएका थिए। त्यहाँ उनले एक सरकारी विद्यालयमा सहयोग समेत गर्दै आएको जानकारी प्राप्त भएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उनको भिसा करिब अढाई महिनाअघि नै सकिएको पाइएको छ। लामो समयदेखि छालासम्बन्धी रोगबाट पीडित रहेका उनी नेपालमा आयुर्वेदिक उपचार गरिरहेका थिए। उनले फ्रान्स सरकारबाट मासिक करिब १ लाख ३० हजार रुपैयाँ बराबरको भत्ता पाउने गरेको र उक्त रकम आफ्नो आमामार्फत नेपालमा प्राप्त गर्दै आएको बताएका छन्।

तर केही समयअघि फ्रान्समा आफ्नो आमाको दुर्घटना भएपछि आर्थिक सहयोग आउन बन्द भएको र त्यसकै कारण उनी होटलको बिल तिर्न नसकेपछि पशुपति क्षेत्रमा पुगेको खुलेको छ। उनको बसोबास रहेको होटलमा हालसम्मका कागजातहरू सुरक्षित रहेको बताइएको छ भने होटलको बाँकी रकमबारे दूतावास र होटल व्यवसायीबीच समन्वय भइरहेको छ।

यसैबीच उनले आफ्ना केही सामान पशुपति क्षेत्रबाट चोरी भएको दाबी गरेका छन्। यद्यपि, उनी नेपालमा कुनै आपराधिक गतिविधिमा संलग्न रहेको कुनै अभिलेख फेला नपरेको प्रहरी स्रोतले जनाएको छ।

अहिले सम्बन्धित निकायहरूबीच समन्वय गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै उनलाई सुरक्षित रूपमा फ्रान्स फिर्ता गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस