इरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको जनाएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन ट्यांकीमा आगलागी हुँदा उडान प्रभावित भएको थियो।
हुथी प्रवक्ता याह्या अल–सारियाले अरामकोका ऊर्जा केन्द्र र संवेदनशील स्थलहरूलाई निशाना बनाएको दाबी गर्दै आक्रमणलाई सानामाथि साउदीले गरेको आक्रमणको जवाफ भनेका छन्। उनले पछिल्लो सात दिनमा साउदीले यमनमा ३०० पटक आक्रमण गरेको आरोप पनि लगाए।
साउदी गठबन्धनले बिश, ताइफ, फरासान र यान्बुमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयास विफल पारिएको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मध्यपूर्व यात्रा पुनर्विचार गर्न चेतावनी दिएको छ।
यसैबीच, यमनमा हुथी र साउदीसमर्थित फौजबीचको भिडन्तमा ४८ जनाको मृत्यु भएको एएफपीले जनाएको छ। पछिल्लो द्वन्द्वले एक लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ।
लालसागरको सामुद्रिक मार्गमा हुथीले मोखा बन्दरगाह र पेरिम टापु नियन्त्रणमा लिएको दाबी गरेका छन्। यसले तेल आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा अनिश्चितता बढाएको छ। लगानी बैंक जेपी मोर्गनले युद्धको परिणामले विश्व बजारमा तेल मूल्य कति प्रभावित हुन्छ भन्ने आकलन कठिन भएको टिप्पणी गरेको छ।

