२०८२ पुष १० गते बिहिवार | 2025 December 25th Thursday

आइपुग्यो फौजी किरा : मकै नष्ट गर्न थाल्यो

काठमाडौ । दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी किराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो किराले सताउन थालेपछि किसान चिन्तित बनेका हुन् ।

 

जिल्लाको मकैबारी, तामाकोशी, मेलुङ, कालिञ्चोक र शैलुङलगायतका विभिन्न क्षेत्रमा सो किराको जोखिम बढ्दै गएको जनाइएको छ । हुर्कंदै गरेको मकैमा किरा लागेको र सबै पातसहित खाएर मकैबारीमा नै सखाप पार्न थालेको किसानले बताएका छन् । दुई हजार मिटरको उचाइमा रहेको चोथाङमा करिब १५० रोपनी क्षेत्रमा लगाइएको बालीमा किरा लागेर सबै मकै सखाप पारेको भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवीन लामाले जानकारी दिए ।

 

यसैगरी मेलुङ, तामाकोशी, वैत्येश्वर, कालिञ्चोक तथा शैलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा सो किराको जोखिम रहेको छ । गत वर्ष पनि जिल्लाको मेलुङ गाउँपालिकाले पवटी तथा वैत्येश्वर गाउँपालिको केही क्षेत्रमा किराको प्रकोप देखिएर नियन्त्रणमा आएको भए पनि यो वर्ष धेरै क्षेत्रमा फैलिएको पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेका कार्यक्रम संयोजक मकैवाली विज्ञ नारायणबहादुर धामीले बताए ।

 

उनका अनुसार यो किरा रातिको समयमा सक्रिय हुने र एउटा किराले जीवन अवधिमा एक ५०० देखि दुई हजारसम्म फूल पार्न सक्ने जानकारी दिए । यसको प्युपा अवस्था माटोमुनि छदेखि आठ सेमीसम्म जानसक्ने र गर्मीमा आठदेखि नौ दिनसम्म र जाडोमा २० देखि ३० दिनसम्म किरा सक्रिय रहने र सातदेखि २१ दिनसम्म बाँच्ने भएकाले छोटो समयमै बाली सखाप पार्ने गरेको उनले बताए । सो किरा नियन्त्रणका लागि जिल्लाको नौवटै स्थानीय तह सक्रिय हुँदैे किसानलाई आवश्यक विषादी, उपकरण तथा प्राविधिक उपलब्ध गराएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार