२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

आफ्नै नातिनी करणी गर्नेलाई घर र समाज बसेर कान समातेर उठबस गराएर छाडिदिए !

इटहरी । एक साताअघि सुनसरी गढी वडा नं ५ का एक पुरुषले हाडनाताअन्तर्गत आफ्नै नातिनीलाई जबर्जस्ती करणी गरे। नौ वर्षीया बालिकालाई ५५ वर्षीय पुरुषले करणी गरेपछि घरपरिवारका सदस्य र छिमेकी मिलेर सामान्य ढंगले कान समातेर उठबस गराएर छाडिदिए।

घटनाका बारेमा अरू गाउँलेले पनि जानकारी पाए। गाउँलेले यस्तो घटनामा सामान्य कान समातेर उठबस गरेर छाड्न नहुने क्षतिपूर्ति दिनुपर्ने माग राखे। ती पुरुषले तीन लाख रूपैयाँ क्षतिपूर्ति दिएर घटना सामसुम पार्ने काम भयो।

घटना पैसा दिएर मिलापत्र गरेपछि गाउँभरि फैलियो। गाउँका सचेत युवाको बुधबार बैठक बस्यो। करणीजस्तो कुकृत्य घटनाबारे उनीहरूले प्रहरीमा जानकारी दिए। इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर बुद्धि चौलागाईंलाई बैठक स्थलबाट युवाहरूले फोन सम्पर्क गरे।

प्रहरी टोली तत्काल पक्राउ गर्न गढी वडा नं ५ पुग्यो, तर गाउँमा प्रहरी आएको सुइँको पाएपछि घटनामा संलग्न पुरुष फरार भए। अहिले ती फरार पुरुषको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर चौलागाईंले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको छ।

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस नभएको अवस्थामा कोही महिलामाथि जबर्जस्ती गरिन्छ भने त्यसलाई नै जबर्जस्ती करणी मानिन्छ। करणीका घटना सुनसरीमा बर्सेनि उकालो लाग्दो छ। अझ नाबालिगमाथी सहमतिमा नै शारिरीक सम्पर्क भएमा त्यो करणी हुन्छ । ९ बर्षकी बालिकाले त सहमति जनाउने कुरै भएन । यो गम्भीर प्रकृतिको अपराध हो ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस