२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

पार्टी सुधार नभएको भन्दै एमाले सिद्धार्थनगरका सचिवसहित ७४ जनाले दिए राजीनामा

UML Siddharthnagar

बुटवल । पार्टीको जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिवसहित ७४ जनाले सामूहिक राजीनामा दिनुभएको छ । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी नगर सचिव नारायणप्रसाद भण्डारीसहित नगर कमिटी र विभिन्न जनवर्गीय संगठनका पदाधिकारीले राजीनामा दिएको घोषणा गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एक महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरिएको तर जिल्ला नेतृत्वले त्यसलाई बेवास्ता गरी उल्टै व्यक्तिगत लाञ्छना र कारबाहीको धम्की दिंदै गुटगत सोचले अघि बढेपछि राजीनामा दिनुपरेको बताउनुभयो ।

‘पार्टीलाई विधि प्रकृया र संस्थागत रुपले अघि बढाउनुपर्छ भनेर ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि एक महिनाअघि सुझाव पत्र पेस गरेका थियौं,’ भण्डारीले भन्नुभयो, ‘तर हाम्रा सम्बोधन गरी पार्टीलाई सुदृढ बनाउने भन्दा निरंकुश शैलीमा गुटगत पुर्वाग्रह राखेर पार्टीबाट निस्किएर गए हुन्छ भन्ने ढंगबाट व्यवहार भएपछि राजीनामा गर्न बाध्य भयौं ।’

जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी पदाधिकारीले समेत पार्टी सुधारका लागि राखेका माग सम्बोधन गर्न कुनै चासो नराखी बेवास्ता गरेको भण्डारीको गुनासो थियो । राजीनामा दिएका नेता कार्यकर्ताहरुले तत्काल स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताउनुभयो । १० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयनतर्फ पार्टी नेतृत्वले चासो नदिएको भण्डारीको आरोप थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस