२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

प्रकाश सपुतले भने, रोमानियाको बोतल प्रहारबाट मानसिक रुपमा विक्षिप्त भएको छु

काठमाडौं । गायक प्रकाश सपुतले आफूलाई रोमानिया घटनाले मानसिक रुपमा विक्षिप्त बनाएको बताएका छन्।

सपुतले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै उनले उक्त घट्नाले आफ्नो मनमा गहिरो चोट पुगेको र अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको बताएका हुन्।

उनले लेखेका छन्, घट्ना संग अरु कुनै ख़राब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घट्नाले मेरो मनमा गहिरो चोट पुगेको छ। अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु। हुनत सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिहरुको जिवनमा आईपर्ने यस्ता घटना र किस्साहरु पढ्दै , सुन्दै आएको हो। तर स्वयम आफु चाहि तयार भैसकेको रहेनछु। भर्खर यात्रा शुरु गरेको छु। यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनेपक्षित घट्नाहरुले यात्रा अफ्ठ्यारो मात्रै होईन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भैरहेको छ। कोभिड पछाडि यस्तो डर ! एन्जाईटि !! लाई पटक-पटक जित्दै आएको भएर यो डर पनि जित्ने छु। जित्नु पर्छ।।।।।

उनले आफूलाई बोत्तल प्रहार गर्ने युवाको आचरण र परिस्थिति म राम्रोसंग बुझेको पनि बताएका छन्। सानै उमेर ठूलो रकम तिरेर विदेश जानु पर्ने बाध्यताले धेरै नेपालीहरुमा चरम निरासा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको उनको भनाइ छ। उक्त कुराहरुलाई आफूले सिर्जना मार्फत राज्य व्यवस्था, सरकार र नेतृत्वसंग प्रश्न गरिरहेको पनि उनले बताएका छन्।

उनले रोमानियामा रहेको एक इटालियन रेस्टुरेन्टमा काम गर्ने नेपाली कामदारसँगको तस्वीर पनि प्रस्तुत गर्दै उनीहरुको माया देखेर आफू खुशी भएको पनि बताएका छन्।

गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरेका थिए। यो घटनाको निकै आलोचना पनि भएको थियो। पछि ती युवकले खुट्टा ढोगेरै माफी मागेपछि सपुतले माफी दिएएका थिए।

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस