२०८२ असार २९ गते आइतवार | 2025 July 13th Sunday

११७ प्रकाश वर्ष टाढा जीवनको सम्भावना रहेको रहस्य पत्ता लाग्यो

काठमाडौं । नयाँ अध्ययनले जीवनको सम्भावना रहेको एक ग्रह पत्ता लगाएको छ। ‘ह्वाइट ड्वार्फ’ नाम दिइएको एक तारालाई परिक्रमा गरिरहेको उक्त ग्रहमा जीवन हुन सक्ने खगोलविदको आशा छ। उक्त ग्रह ‘ह्वाइट ड्वार्फ’ ताराको ‘ह्याबिटेबल जोन’ अर्थात् योग्य क्षेत्रमा पाइएको छ। ‘ह्याबिटेबल जोन’ यस्तो क्षेत्र हो, जहाँ न धेरै गर्मी हुन्छ, न त जाडो नै।

यो अध्ययन बेलायतको रोयल एस्ट्रोनोमिकल सोसाइटीको मासिक सूचनामा प्रकाशित छ। यस अध्ययनको नेतृत्व गरेका युनिभर्सिटी कलेज अफ लन्डनका प्राध्यापक जे फरिहीका अनुसार यो अवलोकन खगोलशास्त्रीहरूका लागि विलकुलै नयाँ हो। ‘कुनै ह्वाइट ड्वार्फको ‘ह्याबिटेबल जोन’मा केही देखिएको यो पहिलोपटक हो,’ उनले भने, ‘त्यस्तो दोस्रो संसारमा जीवनको सम्भावना रहन्छ।’

त्यस्ता धेरै तारा हुन्छन्, जो ‘ब्ल्याक होल’ बन्दै मर्छन्। तर, हाम्रो सूर्यजस्ता साना ताराहरू ‘ह्वाइट ड्वार्फ’ बन्छन्। यी त्यस्ता तारा हुन्, जसले आफूसँग रहेको सबै परमाणु इन्धन उपयोग गरिसकेका हुन्छन् र बाहिरी सम्भावनाबाट पनि टाढा पुगिसकेका हुन्छन्। सामान्यतया यी तारा ग्रहको आकारमा हुन्छन्। अनि पहिलोपटक गठित हुँदा नीलो(सफेद प्रकाश उत्सर्जन गर्छन्।

जीवनको सम्भावनाको आकलन गरिएको नयाँ ग्रह पृथ्वीबाट ११७ प्रकाश वर्ष टाढा छ। शोधमा सहभागी वैज्ञानिकहरूसँग त्यो ग्रहको अस्तित्वका बारेमा ठोस प्रमाण उपलब्ध छैन। तथापि, ‘ह्वाइट ड्वार्फ’को ‘ह्याबिटेबल जोन’मा हाम्रो चन्द्रमाको आकारका ६५ वटा संरचनाहरूको गतिविधिबाट त्यहाँ ग्रह रहेको संकेत मिलेको छ।

ती संरचनाहरूको एकआपसको दूरी बदलिएको पाइएन। त्यसको अर्थ हो, ती संरचना त्यहाँस्थित कुनै ग्रहको गुरुत्वाकर्षणको प्रभावमा छन्। ‘तिनीहरूको गति यति सटिक थियो कि हामीले त्यसबारे सोचेका पनि थिएनौँ। र, यस तथ्यमा प्रवेश गर्दा हाम्रो टिम स्तब्ध हुन पुगेको थियो,’ प्राध्यापक फरिहीले भने। उनका अनुसार ‘ह्याभिटेबल जोन’ तारको चौतर्फी यस्तो इलाका हो, जहाँ कुनै ग्रहमा पानी उपलब्ध हुन सक्छ। र, सोही कारण जीवनको सम्भावना रहन्छ।

खगोलविदहरूका अनुसार ताराबाट टाढा रहेको ग्रह अत्यन्त चिसो हुन्छ भने नजिक रहेको ग्रह अत्यधिक तातो। जुन ग्रह ठिक्क बीच भागमा अवस्थित हुन्छ, त्यहाँ न चिसो, न त तातो नै हुन्छ। जीवनका लागि उपयुक्त अवस्थिति हुन्छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस