२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

धौलागिरी अस्पतालमा जन्मियो बढी तौलको बच्चा

An overweight baby was born in Dhaulagiri Hospital

बागलुङ । धौलागिरी अस्पतालमा बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ। बागलुङको जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अस्पतालमा अहिलेसम्मकै बढी तौल भएको बच्चालाई जन्म दिएको नर्सिङ इन्चार्ज देवी भट्टराईले जानकारी दिइन्।

छन्त्यालले चार केजी सात सय ५० ग्रामको बच्चालाई जन्म दिएकी हुन्। यो छन्त्यालको चौथो सन्तान हो। अस्पतालमा यसअघि बढीमा ४ किलो ५०० ग्रामसम्मको बच्चा जन्म भएको थियो। यसपटक सबैभन्दा बढी ४ किलो ७ सय ५० ग्रामको बच्चा नर्मल डेलिभरी भएको इन्चार्ज भट्टराईले बताइन। ‘यसअघि ठूलो तौल भएको बच्चा जन्माउन नसक्दा अप्रेसन गरेर मात्र बच्चा निकाल्ने गरिन्थ्यो,’ उनले भनिन्,‘यस पटक नर्मल रुपमै सुत्केरी गरायौं।’

अस्पतालले बच्चा ठूलो भएको हुनाले पोखरा जान सल्लाह दिए पनि पहिलेका सन्तान नर्मल जन्मिएको कारणले परिवारले सल्लाह गरेर धौलागिरी अस्पतालमै भर्ना गरिएको छन्त्यालका श्रीमान नेत्रबहादुर छन्त्यालले बताए। ‘दसैंको बेलामा पोखरा जान पनि गाह्रो भयो त्यसैले नजिककै अस्पतालमा डेलिभरी गराउने विचार भएर भर्ना गरेका थियौं,’ छन्त्यालले भने,‘अस्पतालको जनशिक्तको सहयोगमा राम्रोसँग बच्चा जन्मिएको छ।’ अहिले बच्चा र सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस