२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा : भारतसँग फेरि भेट हुनसक्ने

हाङझाउ (चीन), असोज १४ । हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। लगातार दोस्रो खेलमा जित निकाल्ने क्रमम नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो। आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो। माल्दिभ्सका इस्माइली ३ रन र अजिन शून्यमा आउट भए। फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे। घानीले ३४ बलमा २ चौका र २ छक्का हिर्काए। माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए। बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए। उनले ३.४ ओभरमा ११ रन खर्चिए।

सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १-१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे। मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए। नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए। विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस