२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

कम्प्युटर र मोबाइल चलाएर डेढ अर्ब ठगेको आरोपमा सप्तरीका डम्बर साह पक्राउ

Dumbar Sah of Saptari was arrested on the charge of defrauding one and a half billion by using computer and mobile phone

काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका १० डुम्री का ३२ वर्षीय डम्बर साहलाई पक्राउ गरेको छ। उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरबाट पक्राउ गरेको हो। क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँको कारोबार गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए। यो प्रकरणमा कम्तीमा पनि ३४ जना ठगिएको प्रहरीको अनुमान छ।

साहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जस्ता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको भेटिएको छ। साहले संचालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ। अन्य व्यक्तिले खोजेको बेलामा साहले त्यसरी अवैध रुपमा रकम पठाइदिने गरेका थिए।

साहले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टो करेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको भेटिएको छ। उनीसँग मिलेका मिथलेश कुमार मण्डलले नगद र क्रिप्टो किनबेच गर्ने गरेको प्रहरीले जनाएको छ। अवैध रुपमा रकम लेनदेनका लागि साहले उद्गम भेन्चर क्यापिटलका चारवटा बैंक खाता खोलेका थिए। ती चारवटा खाताबाट मात्रै उनले ९१ करोड ६२ लाख ३८ हजार ६०९ रुपैयाँ कारोबार गरेको भेटिएको छ। यो काम उनले सन् २०२२ जुलाईदेखि २०२३ जुन अन्तिमसम्म गरेका हुन्।

उता साहले आफ्नै नाममा पनि विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ। उनले ती खाताबाट ५८ करोड ३५ हजार ६३४ रुपैयाँ कारोबार गरेको भेटिएको छ। यो कारोबार पनि २०२१ जुनदेखि २०२३ जुनसम्म भएको भेटिएको हो। कम्पनीका चारवटा र आफ्ना ११ वटा खाताबाट साहले २ वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेको भेटिएको छ।

 

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस