२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

आज नेपाल र जोर्डन वाफ च्याम्पियनसिप फुटबलको‌ फाइनल खेल्दै

WAFF Women's Championship 2024 FINAL Nepal Vs Jordan

काठमाडौं । नेपाल र जोर्डनको राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज एकअर्का विरुद्ध उत्रदैछन्। जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । नेपालले पहिलो पटक यो प्रतियोगिता खेल्ने मौका पाएको हो। मंगलबार भएको सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ ले पराजित र जोर्डनले प्यालेस्टाइनलाई ५–० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको थियो। समूह चरणमा दुबै टोलीले सबै ३ खेल जितेको थियो।

जोर्डनको‌ फाइनलसम्मको यात्रा सहज रह्यो। समूह चरणमा सजिलो साथ अघि बढेको नेपालले सेमिफाइनलमा लेबनानको कडा चुनौतीको सामना गर्नुपरेको थियो। १–० को पछि परेको खेल उल्टाउँदै नेपाल उपाधि नजिक पुगेको थियो। फिफा वरियतामा नेपाल भन्दा जोर्डन माथि छ । महिला फुटबलको वरियतामा नेपाल १ सय पाँचौं र जोर्डन ७४औं स्थानमा छ ।

वाफमा नेपालले ४ खेलमा १५ गोल गर्दै २ गोलको सामना गरेको छ भने जोर्डनले १३ गोल गर्ने क्रममा १ गोल खाएको छ। टोलीका लागि ९ गोल गरेकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले फाइनल भने खेल्ने छैनन् । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार क्लबमा फर्कनुपर्ने भएकाले फाइनल गुमाउनुपरेको हो ।

फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ । वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो छैनन्। फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले शनिबार निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि उनलाई बोलाएको हो । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि निकै महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ र यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।

नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा ९कप्तान०, उषा नाथ, अञ्जना राना मगर

डिफेन्डरः गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी

मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, सरस्वती हमाल

फरवार्डः चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग, सबिता राना मगर

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस