२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

मध्यरातमा प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा ढुंगामुढा र आगजनी

काठमाडौं, फागुन २५ । दार्चुलामा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको सरकारी निवासमा मध्यराति ढुंगामुढा र आगजनी भएको छ। राति करिब पौने २ बजे गाउँपालिकाको वडा नम्बर २ स्थित निवासमा प्रमुख प्रशासकीय अधिकृत सुतिरहेका कोठामा ढुंगा प्रहार गरी आगजनी भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीका अनुसार अज्ञात समूहले ढुंगा प्रहार गर्दा झ्यालका सिसाहरू फुटेका छन्। त्यस्तै निवासमा रहेका पर्दा, किताब, बेड, ल्यापटप लगायतमा क्षति पुगेको छ। आगजनी गरी अज्ञात समूह फरार भएको प्रहरी निरीक्षक भण्डारीले बताए।

आगजनी गरिएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। आगलागी केहीबेरमै नियन्त्रणमा आएको थियो। दोस्रो तलामा बस्ने उनको कोठामा कसरी आगजनी गरियो भन्ने पनि खुलिनसकेको प्रहरीले जनाएको छ। अज्ञात समूहको खोजी गर्न प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको प्रहरी निरीक्षक भण्डारीले बताए।

‘अज्ञात समूह घटनापछि फरार छ। हाम्रो टोलीले अनुसन्धान र खोजीको काम गरिरहेको छ। अहिलेसम्म खुलिसकेको छैन,’ उनले भने। घटनापछि प्रमुख प्रशासकीय अधिकृत भण्डारी सुरक्षित छन्।

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस