२०८३ जेष्ठ २२ गते शुक्रवार | 2026 June 5th Friday

फर्किदैन जवानी

फर्किदैन जवानी

म प्रकृतिको कपासमा
रङ पोतेर जवानी फर्काउने कोसिसमा छु
समय खोला रहेछ
जो ओरालो बगिरहेछ ।

आफ्नै रहरले किनेको घडी
शरीरको अंगनै बनेपनि
काबुमा नरहने रहेछ ।

घडीका ब्यस्त काँटा
एकोहोरो कुदिरहे छन्
थाक्नु तिनीले पर्ने हो
तर थाक्दै छु म।

रिबनको पुतली थाप्लो माथी फुलाएर
आयुधीझैँ जीवन
स्कुल र किताब
समयको चक्रव्यूहमा नफसेको होइन ।

एक सुत भित्र जवानी र जिम्मेवारी
अर्को धागो भित्र
सिंगो समाज सभ्यताको पाठ पढाउन
गुरु भएर समय
म माथी हावी नभएको होइन।

गुरुको ज्ञान
समयको पहिचान
फुल्ने छ समय
समयमै रोप्न जाने
हुने छ जीवन उद्यान ।
यिनै वाक्यांश भित्र
जीवन खोज्न सिकाएर समयले
म माथी हिउँको वर्षा गराइदियो ।

संसार जित्छु भनेर कुदेको म
त्यही शिरको हिउँ
ऎनामा प्रतिविम्म भएर आउँछ
मेरा उचालिएका भावना
त्यही बखत कठाङ्ग्रीएझैँ लाग्छ ।
लाग्छ अब हिउँमा रङ पोत्नुको के नै अर्थ रहयो
जुन रङले म भित्र उम्रने भावना
नताताए पछि ।

म भित्र जन्मने भावना
जवान भएर पोखिए पनि
माथी कैलाशमा
सेताम्मे कपास फुलेको छ
म एक थान ब्रसमा
अंगारझैँ रङमा चोबेर
जवानी फर्काउन खोज्छु
त्यही बखत असन्तुष्ट समय बोल्छ
अरे यार,
पाकेको फलको बजार मूल्य हुन्छ
दुनियाँ ढाँट तिमी
समयले तिमीलाई आफ्नै नजरले चिन्छ ।

जुनू घिमिरे
दुवाकोट, भक्तपुर

 

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस