२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

बिहेको भोज हुँदै गर्दा घरमा आगलागी : छिमेकीका घरसमेत सखाप

मलंगवा । सर्लाहीको हरिपूर्वा नगरपालिका-५ धोबियाही टोलमा आगलागी हुँदा ५ घर जलेर खरानी बनेको छ। फोहर जलाउन बालिएको घुरबाट आगलागी हुँदा शिवधारी यादव, गिरधारी यादव, सेतन बैठा र सुरेश बैठाको काठको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। त्यसैगरी किशोरी बैठाको पशुचौपाया बाँध्ने गोठ पनि पूर्णरुपमा जलेको छ। ३ घरमा आंशिक क्षति भएको स्थानीयबासीले जानकारी दिएका छन्।

आगोलाई स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी, हरिवन नगरपालिकाको बारुण यन्त्र र महोत्तरी जिल्ला सम्सी गाउँपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको छ। महोत्तरीकै रामगोपालपुरबाट आएको बारुणयन्त्र बाटो साँघुरो भएका कारण घटनास्थलसम्म पुग्न सकेन।

सेतन बैठाको छोरीको आज बिहे थियो। बिहेको भोज हुँदै गर्दा घरमा आगलागी भएको स्थानीयले बताएका छन्। बिहेको घरमा पूर्णरुपमा क्षति भएपछि बिहे कसरी हुने हो त्यो समस्या आइपरेको छ। तीव्र गतिमा हावा चलेका कारण आगोलाई नियन्त्रण गर्न समस्या भएको थियो। केही दिनअघि मात्र सर्लाहीको चक्रघट्टा गाउँपालिका र बसबरिया गाउँपालिकामा आगलागी भएको थियो।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस