२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

५ करोड ठगी गरेर फरार भएकी बिनु शाक्य कम्बोडियामा पक्राउ

Binu Shakya, who escaped after defrauding 5 crores, was arrested in Cambodia

काठमाडौं । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिला कम्बोडियाबाट पक्राउ परेकी छन् । सिन्धुपाल्चोक माम्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । कम्बोडिया सरकारको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनि ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो । इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो । साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो ।

बिनुलाई सम्बन्धित कसूरमा कानून बमोजिम कारबाही गराउने प्रयोजनार्थ प्रहरी वृत्त कालिमाटीमा बुझाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस