२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या, हात बाँधेर मुखमा कपडा कोचेको अवस्थामा शव फेला

भक्तपुर । भक्तपुर नगरपालिका–३, इच्छुगल्लीकी ९४ बर्षीया विष्णुकुमारी त्वयनाको हत्या भएको छ । ६ जना छोराछोरीको अंशबण्डा भइसकेकाले घरमा एक्लै बस्ने उनी घरभित्रै मारिइन् । उनको वासस्थल पनि ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको भक्तपुर दरबार स्क्वायर परिसरभित्रै थियो । दरबार स्क्वायर प्रवेश गर्ने मुख्य गेटबाट छिर्ने वित्तिकै केदारनाथ शिव मन्दिर आउँछ, त्यही मन्दिरसँगै रहेको इच्छुगल्लीबाट डेढ सय मिटर अघिल्तिर रहेको घरमा विष्णुकुमारी बस्थिन् ।

‘त्यति वृद्धालाई मारेर कसलाई पो फाइदा होला ?’, इच्छुगल्लीका स्थानीयहरुसँग प्रश्नै प्रश्न मात्र छ । जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीका अनुसार, बुधबार साँझ ५ बजेतिर इच्छुगल्लीमा रहेको एउटा पुरानो घरमा महिला मृत अवस्थामा भेटिएको भन्दै खबर आएको थियो । भक्तपुर प्रहरीबाट खटिएको टोली गएर हेर्दा चौथो तलामा एक्लै बस्दै आएकी वृद्धा विष्णुकुमारी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको उनले बताए । बुढाथोकीका अनुसार, ‘खुट्टा बाँधेको थियो, मुखमा पनि कपडा कोचेको जस्तो देखिएको थियो । उनका अनुसार शव जस्तो अवस्थामा भेटियो, त्यसले हत्या भएको भन्ने स्पष्ट देखाउँथ्यो ।’

लगत्तै प्रहरीले अनुसन्धानमा सहयोगी तालिम प्राप्त कुकुरलाई केनाइन शाखाबाट झिकाएको थियो भने उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई पनि जाँचमा खटाएको थियो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट पठायो । ‘मृत्युको यकिन कारण पोष्टमार्टम जाँचको विस्तृत प्रतिवेदनबाट आउला, अहिलेलाई उनको हत्या भएको देखिन्छ र संलग्नको खोजी गरिरहेका छौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

 

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस