२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

चेकजाँचमा फोन चलाउँदा पावर देखाउन खोजेको भन्दै प्रहरीद्वारा बुटै-बुटले निर्घात कुटपिट, भिडिओमाथी अनुसन्धान सुरु

काठमाडौं । रातको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान सुरु गरेको छ । भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सर्वत्र चासो आइरहेकोमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

मिश्रले आफूले पनि सामाजिक सञ्जालमा उक्त भिडिओ देखेको र प्रहरीबाट कुटपिट भइरहेको विषयमा अनुसन्धान आवश्यक रहेको पाएपछि अनुसन्धान अघि बढाइएको बताए । भिडिओमा एक प्रहरीले साँझको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि निर्घातरुपमा कुटपिट गरेको देखिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको पनि देखिन्छ । त्यहाँ सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटक–पटक हानेको देखिन्छ ।

कसलाई फोन गर्छस् गर, भन्ने आवज समेत भिडियोमा छ। एसपी मिश्रका अनुसार थाहा पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम हुँदैछ । भिडियोको यथार्थ पहिचान गरेर सम्बन्धित प्रहरीमाथि प्रहरी ऐन अनुसार कारबाही हुन्छ, उनले भने ।

 

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस