२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

पूजाकोठामा सडेगलेको शव फेला, श्रीमान् र १० महिनाको छोरीको खोजी

धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा भेटिएको हो।

स्थानीयले अञ्जली हराएको र उनका श्रीमान् हरिराम यादव पनि बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडिएको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरीले श्रीमान् फरार रहेकाले उनले नै अञ्जलीको हत्या गरेर शव गाडेको आशंका गरेको छ। रामहरिसँगै उनीहरूकी १० महिनाकी छोरीको पनि पत्तो लागेको छैन।

स्थानीयका अनुसार गत शनिबार दम्पतीबीच विवाद भएको थियो। भोलिपल्टै रामहरिले श्रीमती हराएको भन्दै छरछिमेकलाई जानकारी गराएका थिए। मंगलबारदेखि उनी पनि बेपत्ता भएपछि घरका सबै सदस्यहरू अचानक हराएको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शव उत्खनन गरी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस