काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भएको अनियमिततासम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको एक वर्ष बितिसक्दा पनि कुनै निर्णय गरेको छैन। उक्त प्रकरणमा तीन पूर्वसञ्चारमन्त्री मोहन बस्नेत, गोकुल बाँस्कोटा र ज्ञानेन्द्रबहादुर कार्की तथा पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालसहित अन्य उच्च अधिकारीहरू संलग्न देखिएका छन्।
आयुक्तहरूबीच फरक मतका कारण मुद्दा अगाडि नबढेको अख्तियार स्रोतको दाबी छ। एमाले-माओवादी गठबन्धनका कारण केही नेताहरूलाई जोगाउने प्रयास भइरहेको आरोपसमेत लागेको छ।
टेरामक्स खरिदका लागि तीन पूर्वमन्त्रीहरूले नीतिगत निर्णय लिएका थिए । जसअनुसार प्राधिकरणको ७० करोड रुपैयाँ प्रयोग भएको थियो। अनुसन्धान टुंगिएर पनि अख्तियार निर्णयविहीन अवस्थामा रहेको भन्दै सरोकारवालाहरू प्रश्न उठाइरहेका छन्।

