९ चैत्र, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१, भोक्टेनीमा एक ४५ वर्षीय महिला आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन् । फागुन २१ गते राति स्थानीय जिवछ महतो कोईरीले घरमा कोही नभएको मौका छोपी अप्राकृति करणी समेत गरेका थिए ।
पीडित महिलाले फागुन २२ गते इलाका प्रहरी कार्यालय, हरिवनमा लिखित उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै सोही दिन अभियुक्त जिवछ महतोलाई नियन्त्रणमा लिएको थियो ।
घटनाको एक दिनअघि अर्थात् फागुन २० गते अभियुक्त जिवछ महतोकी आमाको निधन भएको थियो । यही कारण देखाउँदै हरिवन–४, सासापुरका इन्द्रदेव महतोले काज किरिया सम्पन्न भएपछि पुनः उपस्थित गराउने सर्तमा अभियुक्तलाई हाजिरी जमानीमा छुटाएका थिए ।
तर, काज किरिया सम्पन्न भए पनि जिवछ महतो प्रहरी समक्ष हाजिर नभई फरार भए । अभियुक्त फरार भएपछि पीडित महिलाले चैत्र ४ गते औपचारिक रूपमा जाहेरी दर्ता गराएकी छिन् । हाल अभियुक्त महतो र जिम्मेवारी लिएका इन्द्रदेव महतो दुवै फरार छन् ।

