काठमाडौं। सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडकखण्डमा ग्याङफाइटको क्रममा भएको हत्यामा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
ग्याङफाइटको सूचना पाएपछि प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरूबाट १६ जना व्यक्तिहरुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, ग्याङफाइटको घटना होलीको दिनको विवादसँग सम्बन्धित थियो, जसले दुई समूह बीच झडपलाई जन्म दियो। २१ वर्षीय रोहित खड्का, विनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्का प्रहार गरेको थियो। यस क्रममा गम्भीर घाइते भएका गोलेलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए।
पक्राउ परेकाहरूमा २१ वर्षीय आशिष श्रेष्ठ, २१ वर्षीय सुजन तामाङ, २७ वर्षीय राज अर्याल, २० वर्षीय डेनिलय विश्वकर्मा, २० वर्षीय निश्चल ब्लोन तामाङ, १९ वर्षीय सुशान श्रेष्ठ, २३ वर्षीय विनय आले मगर, २१ वर्षीय खेमराज बहादुर मगर, २२ वर्षीय रन्जित श्रेष्ठ, २० वर्षीय साङ्गे तामाङ, २५ वर्षीय अजित बुढाथोकी, २५ वर्षीय रोहित खड्का, २० वर्षीय प्रबिन झेडी, १९ वर्षीय गौतम कमर जोगी, २२ वर्षीय प्रवेश गुरुङ, र २२ वर्षीय डेबिड घले रहेका छन्।
पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका व्यक्तिहरुमा २३ वर्षीय सन्दीप भुजेल, २२ वर्षीय चक्रे भनिने पवन तामाङ र २२ वर्षीय पासाङ शेर्पा पनि छन्। उनीहरूको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले अनुसन्धानलाई तीव्रता दिँदै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी राखेको छ।

