काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । योसँगै महिला डाक्टर सचिव बन्ने अवसर गुमेको छ ।
लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा. संगिता मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको छ । देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।
२०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा. देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् ।
प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार

