२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

बेरोजगार राजनले ८ सरकारी जागिरे केटीसँग विवाहको नाटक गरी करोडौं ठगे, तरिका सुनेर सबै चकित

hindu marriage

भारत, उत्तर प्रदेशको सोनभद्र जिल्लाको रोबर्ट्सगंज प्रहरी चौकीमा एउटा ठगीको घटना प्रकाशमा आएको छ। यहाँ एक व्यक्तिले सरकारी जागिर गर्ने युवतीहरूलाई नक्कली विवाहको जालमा पारेर करोडौं रुपैयाँ ठगी गरेको खुलासा भएको छ। ठगले सादी डटकमजस्ता वैवाहिक वेबसाइटहरू प्रयोग गरी महिलाहरूलाई फसाउने गरेको पाइएको छ।

शुक्रबार दिउँसो दुई महिला शिक्षिकासहित तीन जना पीडित महिलाहरू रोबर्ट्सगंज प्रहरी चौकीमा उजुरी लिएर पुगे। उनीहरूले आफ्नो पतिको रूपमा एउटै व्यक्ति, राजन गहलोतको नाम उल्लेख गरेका छन्। सन्त कबीर नगरकी एक शिक्षिका सरिताको उजुरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। सरिताले आरोप लगाएकी छन् कि राजनले उनूसँग विवाह गरेर लाखौं रुपैयाँ ऋण लिए र फरार भए।

सरिताले बताइन्, ‘म अम्बेडकर नगरमा शिक्षिकाको जागिर गर्छु र आमासँग बस्छु। सादी डटकममार्फत राजनले मलाई सम्पर्क गर्‍यो। पछि थाहा भयो, उसले ७–८ जना सरकारी जागिरे महिलासँग यस्तै ठगी गरेको रहेछ।’ अन्य दुई पीडित महिलाले पनि राजनले आफूहरूसँग विवाह गरेको र ठगी गरेको दाबी गरेका छन्। उनीहरूका अनुसार, राजन हाल मुशैन कम्पोजिट स्कूलमा कार्यरत एक शिक्षकसँग छन्।

अतिरिक्त एसपी कालु सिंहले भने, ‘सन्त कबीर नगरकी शिक्षिकाको उजुरीमा सहिजन गाउँका राजन गहलोतविरुद्ध ठगीसहित विभिन्न धारामा मुद्दा दर्ता भएको छ। अनुसन्धान जारी छ।’ प्रहरीले आरोपीको खोजी तीव्र बनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस