काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा एक पर्यटक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना स्पेनबाट आएका एउटै परिवारका सदस्य थिए भने पाइलटको पनि घटनास्थलमै ज्यान गएको हो।
‘न्यूयोर्क हेलिकप्टर टुर्स’द्वारा संचालित उक्त हेलिकप्टर अप्रिल १० को दिउँसो हडसन नदीमाथि उडिरहेको थियो। जर्ज वाशिंगटन ब्रिज नजिक पुगेर दक्षिणतिर मोडिएको केही मिनेटमै हेलिकप्टर अचानक नदीमा खसेको थियो। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा हेलिकप्टरले सन्तुलन गुमाउँदै पानीमा खस्दाको क्षण देखिन्छ।
घटनापछि तत्कालै आपतकालीन सेवा र प्रहरीले उद्धार कार्य थालेका थिए। चार जनाको घटनास्थलमै र बाँकी दुईको अस्पतालमा मृत्यु भएको हो। पानीबाट उद्धार गरिएकामध्ये कोही पनि बच्न सकेनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यो दुर्घटनालाई ‘भयानक’ भन्दै पीडित परिवारप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “हडसन नदीको यो दुर्घटना भयावह छ। पीडित परिवार र साथीहरूका लागि भगवानले शक्ति दिऊन्।”
न्यूयोर्क शहरमा यस्ता हेलिकप्टर दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। सन् २०१८ मा पनि यस्तै दुर्घटनामा पाँच यात्रुको मृत्यु भएको थियो। त्यसयता हेलिकप्टर सुरक्षाको विषयमा अमेरिकी कांग्रेसमा बहस हुँदै आएको छ। संघीय उड्डयन प्रशासनले प्रमुख विमानस्थलहरू नजिक हेलिकप्टर ट्राफिकमा कडाइ गर्न थालिसकेको छ।

