काठमाडौं । मानव बेचबिखनमा संलग्न भई फरार रहेका सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ का ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका अनुसार उनले २०४४ पुस १९ गते काठमाडौं चाबहिलस्थित गलैचा कारखानामा काम गर्ने पीडित युवतीलाई “यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा सुनको व्यापार गरौं” भनी झुक्याएर दिल्ली हुँदै मुम्बई पुर्याएका थिए। त्यहाँ रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको वेश्यालयमा उनलाई भारतीय ८० हजार रुपैयाँमा बेचिएको थियो।
पीडितले ७ वर्षसम्म जबरजस्ती वेश्यावृत्तिमा बाध्य पारिएको खुलासा भएको छ। यस घटनाबारे २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जाहेरी दर्ता भएको थियो। अनुसन्धानका क्रममा मुद्दा काठमाडौं जिल्ला प्रहरी परिसर हुँदै २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पुगेको थियो।
तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

