१९ बैशाख , काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । बुधबार राति नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिमा कर्मचारीहरूको मागमुद्दा नसमेटिएको भन्दै आज परिषद्ले पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो ।
परिषद्का महासचिव शान्तिनाथ योगीले महासंघले एकलौटी सहमति गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए । उनले भने, ‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलन रहस्यमय ढङ्गबाट वैशाख १७ गतेका दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच भएको वार्तामा आबद्ध र सम्बद्ध संस्थाका अध्यक्षहरूलाई मुकदर्शक बनाएर गरिएको धोकापूर्ण वार्तामा नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघ र नेपाल सरकारलाई बुझाएको संस्थागत धारणाको मर्मानुरूप विपरीत हुने गरी तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्णरूपमा बेवास्ता गर्यो ।’
एकलौटी महासंघको नेतृत्वले निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने,मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमावि प्रथम श्रेणीको शिक्षकको तलब ग्रेड मावि, द्वितीय श्रेणीको शिक्षक सरह हुने लगायतका सहजातीय सेवा सुविधाजन्य गतिविधिमा तीव्र लबिङ गरेर विद्यालय कर्मचारीलाई सडकमै बिनासूचना छाडिदिएको उनको भनाइ छ ।
‘यसो हुँदा विद्यालय कर्मचारीहरूमा असन्तुष्टि पैदा हुनु स्वाभाविकै हो । तसर्थ आम विद्यालय कर्मचारीमा पर्न गएको नैतिक दबावलाई मद्देनजर गर्दै विभिन्न माग राखी आन्दोलन परिचालन समिति गठन गरी प्रथम चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।

