२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

३० वर्षभित्र नेपालमा आउनेछन् डरलाग्दा परिवर्तन : बिडम्बना कोही तयार छैनन्

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले २१११ सालसम्म नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरेको छ। राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले यस्तो अनुमान प्रस्तुत गरेको हो। प्रतिवेदन अनुसार, २०७८ सालसम्ममा ६० वर्ष वा त्यस माथिका व्यक्तिहरूको संख्या कुल जनसङ्ख्याको १० दशमलव २ प्रतिशत पुगेको छ। यो संख्या २०६८ सालमा ८ दशमलव १ प्रतिशत थियो।

२०७८ सालमा नेपालका ज्येष्ठ नागरिकहरूको संख्या २०४८ को तुलनामा तीन गुणा बढेको देखिन्छ। जन्मदर घट्दै जाने र बालबालिकाको संख्या कम हुँदै जाने प्रवृत्तिले नेपाल अब वृद्धावस्थाको समाजतर्फ बढिरहेको संकेत गरेको छ। अहिले बहुसंख्यक तन्नेरी भएको अवस्थामा त देशमा खास केही हुननसक्दा त्यो बेलाको अवस्था झनै गरिबी हुनसक्ने चित्रित गरिएको छ ।

भौगोलिक हिसाबले, पहाडी क्षेत्रको बुढ्यौली जनसंख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। २०६८ मा २५ दशमलव ७ प्रतिशत बुढ्यौली जनसंख्या रहेको पहाडी क्षेत्रको यो संख्या २०७८ मा ४३ दशमलव ६ प्रतिशत पुगेको छ। ग्रामीण क्षेत्रमा बुढ्यौली जनसंख्याको अनुपात शहरी क्षेत्रको तुलनामा कम रहेको छ। महिलाको ८४ दशमलव ७ प्रतिशत र पुरुषको ७५ दशमलव १ प्रतिशत ६० वर्षसम्म जीवित रहने अनुमान गरिएको छ।

बुढ्यौली जनसंख्यामा वृद्धि भएसँगै एकल परिवारहरूको संख्या पनि बढ्दै गएको छ। यसले आवास, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा चुनौतीहरू थप्नेछ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस