२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

पोलिटब्यूरो बैठकमा करिब ४० नेताले बोल्नै बाँकी, अध्यक्ष ओलीले दिए बैठक सक्न निर्देशन

काठमाण्डौँ ।  नेकपा एमालेको शुक्रबारदेखि जारी पोलिटब्यूरो बैठक आज शनिबार सक्ने तयारी छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक आजै ६ देखि ७ बजेभित्रमा सक्न निर्देशन दिएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेसम्म ३२ जनाले धारणा राखिसकेका छन् । उनका अनुसार करिब ४० जना सदस्यले बोल्न बाँकी छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पोलिटब्यूरो सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।

शनिबारको बैठकमा उत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, लिला गिरी, जगत विक, कमल चौलागाई, ईश्वरी बहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना र गोकुल घर्ती मगर लगायतले आफ्नो राय राखेका छन् । यसमा केहीले लिखित राय राखेका छन् ।

सदस्यहरूले धारणा राखेपछि अध्यक्ष ओलीले जवाफ दिनेछन् । विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ ।

त्यस्तै, पदाधिकारी संख्या १५ जनासहित केन्द्रीय कमिटीको संख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्यूरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।

प्रचार विभाग प्रमुख गौतमले विधान संशोधन प्रस्तावबाहेक ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्व उपराष्ट्रपति विद्या भण्डारीको सक्रियता लगायतको विषयमा केन्द्रित रहेर नेताहरूले धारणा राखेको जानकारी दिए ।

नेताहरूले पार्टीका कमिटीहरूलाई समन्वय र कार्यकारीको भूमिकामा अघि बढाउनु पर्ने लगायतका विषयमा पनि कुरा राखेका प्रचार विभाग गौतमले बताए । एमालेको विधान महाधिवेशन आउँदो भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने तय भएको छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस