काठमाडौं । बुधवार जब बाङ्ग्लादेश एएफसी महिला एशियन कपमा छनोट भयो, त्यो खबरले नेपाली महिला फुटबल टोलीमा पनि नयाँ तरङ्ग ल्याइदियो। दक्षिण एशियाली प्रतिद्वन्द्वी बाङ्ग्लादेशको यो सफलता नेपाली टोलीको लागि सकारात्मक थियो। यसले शनिवार उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा नेपाली खेलाडीहरूलाई “हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि”को सम्भावनातर्फ अगाडि बढ्न थप ऊर्जा दिने छ। शनिवारको खेल पनि त अत्यन्त रोमाञ्चक मोडमा पुगिसकेको छ।
उज्बेकिस्तानको तास्कन्दमा हुने एशियन कप छनोटको अघिल्लो खेलको नतिजाले दुवै टोलीलाई समान हैसियतमा उभ्याएको छ। दुवै टोलीको ६/६ अङ्क, दुवै टोलीले गरेको गोल सङ्ख्या पनि १७/१७ र दुवै टोलीले कुनै पनि गोल खाएको छैन।
यस्तोमा शनिवारको खेलमा स्पष्ट नतिजा निकाल्न जरुरी छ। एशियाली फुटबल महासङ्घ एएफसीको नियमअनुसार त्यसपछि पनि दुई टोलीको समान अङ्क र गोल अन्तर पनि समान भएमा सिधै पेनाल्टीबाट नतिजा निकालिने छ। शनिवारको खेलको नतिजाले दुईमध्येको एकलाई अर्को वर्ष अस्ट्रेलियामा हुने एशियन कपमा पुर्याउने छ।
को कति बलियो ?
झट्ट हेर्ने हो भने उज्बेकिस्तानको स्थिति नेपालभन्दा अलि बलियो देखिन्छ। उज्बेकिस्तान फिफा वरीयतामा ५१ औँ स्थानमा छ भने नेपालको वरीयता १०० औँ छ। त्यस्तै यो खेल उज्बेकिस्तानको घरेलु मैदानमा हुँदै छ र घरेलु खेलाडीहरूलाई त्यसबाट पनि फाइदा हुन सक्छ।
नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले पराजित गर्दा दोस्रो खेलमा श्रीलङ्कालाई ८-० ले हराएको थियो। यता उज्बेकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई १०-० ले तथा दोस्रो खेलमा लाओसलाई ७-० ले पराजित गरेको थियो। तर मैदानमा नेपाली महिला खेलाडीहरूले देखाएको प्रदर्शनलाई हेर्ने हो भने टोली पनि कुनै हालतमा कमजोर देखिएको छैन।
टोलीमा अहिले दुई पक्ष निकै मजबुत देखिन्छन्। पहिलो कुरा खेलाडीहरूले ‘टीमवर्क’ मा निकै जोड दिएका छन्। मैदानमा त्यसको प्रभाव पनि देखिएको छ। खेलाडीहरूबीच खेलको तालमेल र गोल निस्केको तरिकाले खेलाडीहरूमा आत्मविश्वास बढेको देख्न सकिन्छ।
नेपाली कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले पत्रकार सम्मेलनमा भनेकी छिन्, ” हामीले टीमवर्कमा विशेष ध्यान दिएका छौँ। त्यसले खेलमा राम्रो भएको छ।”
प्रशिक्षकको रणनीति
यसपालिको नेपाली टोलीको नयाँ पक्ष भनेको प्रशिक्षक प्याट्रिक डे वाइल्डको बुझ्न नसकिने खालको रणनीति पनि हो। बेल्जियमका यी प्रशिक्षकले आउनेबित्तिकै टीमको संरचनामा उथलपुथल नै गरिसकेका छन्। नियमित कप्तान गोलकीपर एन्जिला तुम्बाप्पो सुब्बा टीममै छैनन्। कप्तानको जिम्मेवारी सावित्रा भण्डारीको काँधमा छ।
अनि प्रशिक्षकले आक्रामक फुटबलमा जोड दिएको देखिएको छ। उनले प्रतियोगितामा भाग लिनुअगाडि नै नेपाली टोलीमा योग्यताअनुसार जोकोही खेलाडी तलमाथि हुन सक्ने बताएका थिए। कतिपय विश्लेषकका अनुसार प्रशिक्षकले अघिल्लो दुई खेलमा खेलाडीको टोलीभन्दा फाइनलको संरचना बेग्लै हुन सक्ने छ।
उज्बेकिस्तानमा नेपालको खेल प्रत्यक्ष हेरिरहेका पत्रकार नायक पौडेल भन्छन्, “प्रशिक्षकले आफ्नो पहिलो रोजाइको बलियो टोली त देखाएकै छैनन्। उज्बेकिस्तानका खेलाडीहरूले त्यही दिन मात्र नयाँ नेपाली टोली देख्ने छन्।”
श्रीलङ्कासँगको खेलमा मिड्फील्डर प्रीति राई घाइते भएकी थिइन्। तर उनको चोट सामान्य रहेको र शनिवारको खेलसम्ममा उनी ठिक हुने एन्फाले बताएको छ। अर्कोतर्फ शनिवारको निर्णायक खेलमा नेपालभन्दा बढी दबाब आयोजक उज्बेकिस्तानका खेलाडीहरूमाथि नै हुने छ। एशियन कपमा नेपालले तीन पटक भाग लिइसकेको छ। तर त्यति बेला छनोट खेल्ने प्रणाली थिएन। यसपालिको छनोट पार गरेमा त्यो नेपाली महिलाको अहिलेसम्मकै ठूलो सफलता बन्ने छ। त्यसले टोलीको ओलिम्पिक छनोट र विश्वकप छनोटसम्मको आगामी यात्रा सहज हुन सक्ने छ। बीबीसी नेपालीबाट

