सुनसरी – नेकपा एमाले सुनसरी जिल्ला कमिटीको नयाँ अध्यक्षमा परशुराम यादव चयन भएका छन्। आइतबार सम्पन्न छैठौं जिल्ला कमिटी बैठकले लामो समयदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका यादवलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

पार्टी संगठनमा सक्रिय भूमिकामा रहेका यादव जिल्ला कमिटीको उपाध्यक्ष हुँदै नेतृत्वको पंक्तिमा उदाएका थिए। जिल्ला अध्यक्ष निलम खनालको २०८१ जेठ २४ गते असामयिक निधन भएपछि पार्टीले नेतृत्वको निरन्तरताका लागि यादवलाई कार्यवाहक अध्यक्ष तोकेको थियो। खनाल २०८१ जेठ ५ देखि ७ गतेसम्म सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित भएका थिए।

बैठकमा पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी स्थानीय तथा संघीय निर्वाचन तयारी, जिल्ला स्तरमा रहेका राजनीतिक चुनौती, कार्यकर्तामाझ एकता र उत्साह जगाउने रणनीतिहरू समेत छलफल गरिएको बताइएको छ। अध्यक्षमा चयन भएपछि यादवले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै पूर्वाधार निर्माण, पार्टी विस्तार र जनताबीचको विश्वास पुनःस्थापना आफ्नो प्राथमिकता हुने बताएका छन्।
“जिल्लाभर एमालेको सशक्त उपस्थितिलाई अझ प्रगाढ बनाउन र कार्यकर्ताहरूबीचको समन्वय बलियो बनाउन म कटिबद्ध छु,” यादवले बैठकपछि भने।
यादवको नेतृत्वमा एमाले सुनसरीले नयाँ राजनीतिक यात्रा सुरु गर्ने अपेक्षा गरिएको छ। पार्टीका कार्यकर्ताले पनि उनको नेतृत्वमा संगठनात्मक एकता र कार्यदिशामा गति आउने विश्वास व्यक्त गरेका छन्।

