२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

अन्तत: बिद्या भण्डारीको पाईला रोकिएनन्, मदनले चुनावी प्रचार गर्न प्रयोग गरेको घरमा भण्डारीको सम्पर्क कार्यालय !

काठमाण्डौँ । मदन भण्डारी हीरक महोत्सवको तयारीका लागि सम्पर्क कार्यालय खोलिएको छ । मदन भण्डारी फाउन्डेशनले मदन भण्डारीको ७५ औँ जन्मोत्सवको उपलक्ष्यमा हीरक महोत्सव मनाउँदै छ । सोही प्रयोजनका लागि सम्पर्क कार्यालय खोलिएको हो । एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णय लिएकी पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट रहेका नेताहरूले नयाँ बानेश्वरको थापागाउँमा सम्पर्क कार्यालय लिएका हुन् । उक्त कार्यालय लिएसँगै भण्डारीको सक्रिय राजनीतिको गतिविधि बढ्न थालेको अर्थमा हेरिएको छ ।

थापागाउँ हाइटमा सम्पर्क कार्यालयका लागि मदन भण्डारीले २०४८ सालको चुनावमा उपयोग गरेको घर नै रोजिएको छ । यो भवन २०४८ सालको चुनावको प्रचारका लागि मदन भण्डारीले प्रयोग गरेका थिए । त्यतिबेला भण्डारीले काठमाडौं– १ बाट कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । संयोग चाहिँ २०५१ सालको चुनावमा विद्या भण्डारीले पनि सोही भवनमार्फत प्रचारप्रसारको काम गरेकी थिइन् ।

हीरक महोत्सवका लागि भाडामा लिइएको भवन पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने चर्चा छ । तर, भण्डारीनिकट नेताहरूमै भने अहिले उक्त भवनको विषयमा दुईधार देखिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस