२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

गृहमन्त्री रमेश लेखक रबिसँग रिसाए, भन्छन्_’एउटा कोठामा एक कैदी राख्दा पनि अभाव भन्ने ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही कारागार बसाइ र सुविधाका विषयमा विभिन्न खाले टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री रमेश लेखकले बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार आयोगको बैठकमा कटाक्ष गरेका छन् ।

कारागारमा रविलाई न्यूनतम सुविधा समेत नदिएको आरोप सामाजिक सञ्जालमा सर्वत्र भइरहेका बेला गृहमन्त्री लेखकले भौतिक पूर्वाधार अभाव र बजेटको सीमितताका कारणले चाहेका जति धेरै सुधारका काम गर्न नसकिएको बताए ।

‘मुस्किलले १५-१६ जना अटाउने ठाउँमा ३५ जना मानिस बसेको माननीय ज्यूहरूले हेरेर आउनु भएको छ । त्यहाँतिर त भौतिक पूर्वाधारकै कुरा जोडिन्छ ।’ बैठकमा उठेका प्रश्नहरूको जवाफ दिदैं गृहमन्त्री लेखकले भने, ‘१५ जनाको ठाउँमा ३५ जना राख्यो भने त स्वास्थ्यको समस्या सुरु होला । मनोवैज्ञानिक विषय होला । मानिसलाई राम्ररी निन्द्रा नपरेपछि दिनभरी रिस उठ्ला । त्यसपछि झगडा होला । कपतिपय यी कुराहरू जोडिएका छन् ।’

मन्त्री लेखकले देशभरका कारागारमा एक या दुई कैदी बन्दी मात्रै एउटै कोठामा बसेको जानकारी दिए । ‘अब प्रत्येक बन्दीलाई एक÷एक कोठा अथवा एक कोठामा दुई÷तीन कैदीसम्म राख्न सकेर व्यवस्थित गर्न सके हुन्थ्यो । तर देशभरिमा एउटै कोठामा एउटा कैदी बसेको एक या दुई कैदी होलान् । होइन भने प्रत्येक कोठामा १०-१२-१५-२० यदि, ५ सम्भावना छ भने कैदीबस्ने भने त १०-१५ बसेका होलान् । १५ छ भने ३०-३५ जना बसेको स्थिति छ ।’

मन्त्री लेखकले कटाक्ष गर्दै भने, ‘एउटा कोठामा एउटा कैदी बसेको बिरलै होला । एक जना दुई जना कोही बस्नु भएको होला । अन्यथा सबै कैदीबन्दीहरुको त्यो स्थिति छ । समितिलाई स्थितिका बारेमा सरकारका तर्फबाट जानकारी गराउँछु ।’

मन्त्री लेखकले पूर्व गृहमन्त्री लामिछानेलाई कारागार स्थान्तरणको विषय अघि बढेको जानकारी दिएका छन् । कारागार स्थान्तरण सरकारले गर्ने बताउँदै सुरक्षा लगायत सबै कुरा हेरेर निर्णय गर्नुपर्नेमा मन्त्री लेखकले बताए ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस