२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु : निकिता पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन्। लामिछाने माथि भएको अन्याय विरुद्ध उनले आफू उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने समेत घोषणा गरेकी हुन्।

बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले न्यायालयमा राजनीतिक प्रभावका कारण निष्पक्षता खल्बलिएको गम्भीर दाबी गरेकी छन्।

उनले लेखेकी छन्, ‘आम थुनुवाले पाउने अड्डासारको सुविधा मेरो श्रीमानलाई अदालतले आदेश दिए पनि गृहमन्त्रीको निर्देशनमा रोकिन्छ।’ पौडेलका अनुसार अदालतमा मुद्दाको पेसी चढेपछि न्यायिक परिषद्मा उजुरी पुग्ने र ती उजुरीहरू गृहमन्त्रीको कार्यकक्षमै ड्राफ्ट हुने गरेको छ।

निकिता पौडेलले गृहमन्त्री लेखकमाथि न्यायाधीशलाई डराउने नियतका साथ उजुरीहरू मिडिया र अन्य माध्यमबाट फैलाउने प्रयास गरिएको पनि दाबी गरेकी छन्। ‘उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर, समाचार लिंक सबैलाई मोबाइलमा पठाउने आदेश दिनुहुन्छ, न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ,’ उनको स्टाटसमा उल्लेख छ।

त्यसैगरी, रवि लामिछानेविरुद्धका सबै मुद्दा लेखक गृहमन्त्री भएपछि मात्र उठाइएका हुन् भन्दै उनले यो घटनाक्रमलाई सुनियोजित षड्यन्त्रको संज्ञा दिएकी छन्। अदालतमा बहसको क्रममा सरकारी वकिलहरू जवाफ दिन नसक्ने तर फैसला भने रवि लामिछानेविरुद्ध आउने आरोप पनि उनले लगाएकी छन्।

‘इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्ष दिन सक्दैन, तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन,’ स्टाटसमा भनिएको छ।

निकिता पौडेलले प्रधानमन्त्री, कानुनमन्त्री र गृहमन्त्रीले न्यायाधीशहरूलाई फोन गरेर दबाब दिने गरेका कुरा आफूले पहिले नसुनेको तर अहिले प्रत्यक्ष अनुभूति भएको बताएकी छन्।

‘न्याय नपाएसम्म म लडिरहन्छु,’ भन्दै उनले न्याय सम्पादनमा अवरोध पुगेको भन्दै न्याय परिषद्मा उजुरी दिने चेतावनी पनि दिएकी छन्।

साथै, उनले प्रधानन्यायाधीशलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘कार्यकाल सकिएपछि लेखिने पुस्तकले न्याय दिँदैन, कार्यकालमै लेखिएको आदेशले दिन्छ। न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु। न्याय नपाउन्जेल लड्छु।’

प्रकाशित मिति : २०८२ साउन २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस