२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

मन्त्रिपरिषद पुनर्गठनको तयारी प्रधानमन्त्री, यी मन्त्री हुँदैछन् परिवर्तन

काठमाडौं। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस तयार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट सरकारमा सहभागी भएका मन्त्री परिवर्तन गर्ने तयारीमा जुटेका छन्।

सरकार गठन भएको एक वर्षपछि मन्त्री फेर्ने बताउँदै आएका प्रधानमन्त्री ओलीले सकेसम्म कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरु पनि एकै पटक परिवर्तन गर्दै मन्त्रिपरिषद पनुर्गठन गर्ने तयारी गरेका थिए।

तर आन्तरिक किचलोका कारण सभापति शेरबहादुर देउवा तत्काल कांग्रेसबाट सरकारमा सहभागी मन्त्री परिवर्तन गर्ने पक्षमा नरहेपछि प्रधानमन्त्री ओलीले एमाले, जसपा र लोसपाका मन्त्री परिर्तन गर्ने तयारीमा जुटेका हुन्।

स्रोतका अनुसार कांग्रेस सभापति देउवाले विभिन्न समूहबाट मन्त्री बनाइएको र उनीहरुलाई फिर्ता बोलाउँदा पार्टीभित्र विवाद बढ्न सक्ने भन्दै तत्काल मन्त्री फिर्ता बोलाउँदा आफूलाई अप्ठेरो पर्ने बताएपछि प्रधानमन्त्री ओलीले कांग्रेस बाहेकका मन्त्री परिवर्तन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण अगाडि नै मन्त्री परिवर्तन गर्ने गरी तयारी थालेका हुन्।

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार एमालेबाट मन्त्री बनेकामध्ये अर्थमन्त्री विष्णु पौडेल, संचार मन्त्री पृथ्वीसुब्बा गुरुङ, सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र शिक्षा मन्त्री रघुजी पन्त बाहेक अन्य मन्त्री परिवर्तन गर्ने तयारी गरेका छन्।

पौडेल र गुरुङले आफूलाई साथ दिएको र न्यौपाने र पन्त भर्खर मन्त्री बनेका कारण उनीहरुलाई निरन्तरता दिने पक्षमा ओली छन्। त्यस बाहेक उद्योगमन्त्री दामोदर भण्डारी, रक्षामन्त्री मानवीर राई, सहकारी मन्त्री बलराम अधिकारी ओलीले परिवर्तन गर्ने मन्त्रीको सूचीमा छन्।

यसैगरी लोसपाबाट श्रम मन्त्री बनेका शरदसिंह भण्डारीलाई परिवर्तन गरी उनको ठाउँमा लोसपाकै सवेन्द्रनाथ शुक्लालाई मन्त्री बनाउने तयारी छ।
यसैगरी अशोक राई नेतृत्वको जसपाबाट मन्त्री बनेका प्रदीप यादव र महिला मन्त्री नवलकिशोर साह सुडीलाई परिवर्तन गरी उनीहरुको ठाउँमा डा. वीरेन्द्र महतो र मञ्जु झालाई मन्त्री बनाउने तयारी भएको छ।

प्रकाशित मिति : २०८२ साउन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस