२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

भैरहवाबाट विमानमा उडे रवि लामिछाने, पहिले जस्तै सफाचैट देखिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार सार्नका लागि हवाई मार्ग हुँदै काठमाडौं पठाइएको छ। अदालतले अनुमति दिएको ४० दिनपछि सरकारले उनको कारागार सरुवाको निर्णय कार्यान्वयन गरेको हो।

शनिबार दिउँसो कडा सुरक्षा घेराबीच लामिछानेलाई कारागारबाट बाहिर निकालेर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको थियो। उनी बुद्ध एयरको उडानमार्फत ४ः३८ बजे काठमाडौं आए ।

कारागार परिसर बाहिर रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले उनको पक्षमा नाराबाजी गरेका थिए। यता नख्खु कारागारमापनि समर्थक भरिएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले गत जेठ १४ गते नै कारागार सरुवाको माग गर्दै निवेदन दिएका थिए। रुपन्देही जिल्ला अदालतले जेठ १६ गते अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोक्दै आएको थियो।

हालै राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँगको भेटमा लामिछानेले भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि सरकारमाथि उनलाई काठमाडौं सार्न दबाब बढेको थियो। सोही दबाबपछि कारागार व्यवस्थापन विभागले शुक्रबार उनलाई नख्खु कारागार सार्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०८२ साउन ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस