२०८३ असोज १९ गते सोमवार | 2026 October 5th Monday

सुपरस्टार शाहरुख खानका छोराविरुद्ध मुद्दा पर्‍यो

काठमाडौं । पूर्व नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) अधिकारी समीर वानखेडेले बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको घटनालाई लिएर बनेको वेब सिरिजका कारण दिल्ली उच्च अदालतमा मानहानि मुद्दा दायर गरेका छन्।

वानखेडेले दायर गरेको मुद्दामा अभिनेता शाहरुख खान र गौरी खानको स्वामित्वमा रहेको रेड चिलीज इन्टरटेनमेन्ट प्रालि, ओटीटी प्लेटफर्म नेटफ्लिक्स र अन्य सम्बन्धित पक्षहरूलाई प्रतिवादी बनाइएको छ।

उनको दाबी अनुसार, रेड चिलीजद्वारा निर्मित र नेटफ्लिक्समा प्रसारित ‘Bads of Bollywood’ नामक वेब सिरिजमा आफूलाई लक्षित गरी झूटा, दुर्भावनापूर्ण र मानहानिपूर्ण सामग्री प्रस्तुत गरिएको छ। सिरिजमा देखाइएका पात्रहरू मध्ये एक वानखेडे जस्तै देखिने पात्र रहेको र उक्त पात्रलाई बलिउड कलाकारहरूको पछि लाग्ने, व्यंग्यात्मक र हास्यास्पद रूपमा चित्रण गरिएको उनले उल्लेख गरेका छन्।

यसको क्षतिपूर्ति स्वरूप वानखेडेले २ करोड रुपैयाँ माग गरेका छन्। रोचक कुरा के भने, उनले उक्त रकम टाटा मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर पीडितहरूको उपचारका लागि दान गर्ने प्रस्ताव पनि गरेका छन्।

सिरिज सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको निकै चर्चा भएको थियो। धेरैले यो पात्र वानखेडेबाट प्रेरित भएको भन्दै आलोचना गरेका थिए।

स्मरण रहोस्, अक्टोबर २, २०२१ मा वानखेडेले एनसीबी टोलीसँग मिलेर मुम्बईस्थित कर्डेलिया क्रूज जहाजमा छापा मारेका थिए। सो क्रममा शाहरुख खानका छोरा आर्यन खानसहित २० जनालाई पक्राउ गरिएको थियो। तर, पछि वानखेडे स्वयंमाथि नै आर्यनलाई रिहा गराउन २५ करोड रुपैयाँ घुस मागेको आरोप लागेको थियो।

यो विवाद अझै जनमानसमा ताजा रहेको बेला वानखेडेले मानहानि मुद्दा दायर गर्नुले बलिउड, कानुन र ओटीटी सामग्रीबीचको सम्बन्धलाई पुनः चर्चामा ल्याएको छ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस