काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा हुने विषयलाई भर्खरै भारतीय मिडियाले विशेष खुलासा भन्दै छापिरहेका छन् । भ्रमणका क्रममा शाहले मोदीसँग भेटवार्ता गर्दै दुई देशबीचको आर्थिक सहकार्य, हवाई रुट र अन्य द्विपक्षीय विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश भ्रमण हुनेछ। उनी भारतमा करिब २५ घण्टा रहने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेट एक्लाएक्लै भेटवार्ता गर्ने बताइएको छ। भ्रमणका क्रममा भारतले नेपाललाई करिब २ अर्ब अमेरिकी डलर (झन्डै १९ हजार करोड रुपैयाँ) बराबरको आर्थिक प्याकेज उपलब्ध गराउन सक्ने चर्चा छ। नेपालले उक्त सहयोगमध्ये ऋण, अनुदान तथा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि रकम मागेको जनाइएको छ।
शाहको भ्रमणमा नयाँ हवाई रुट, रेलमार्ग, विद्युत् व्यापार, पेट्रोलियम पाइपलाइन तथा बाढीपछिको पुनर्निर्माण लगायतका विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ। भारतले महेन्द्रनगर हुँदै अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुट खोल्ने विषयमा सकारात्मक संकेत दिएको बताइएको छ। त्यस्तै, जनकपुर–अयोध्या रेल सेवा सञ्चालन, जयनगर–जनकपुर रेललाई बर्दिबाससम्म विस्तार तथा रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका विषयमा पनि छलफल हुने जनाइएको छ।
नेपालले भारतलाई वार्षिक १ हजार ६५० मेगावाटभन्दा बढी विद्युत् बिक्री गर्ने तथा भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात बढाउने विषय पनि उठाउनेछ। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार र सिलिगुडीदेखि झापासम्म नयाँ पाइपलाइन निर्माणको प्रस्तावसमेत राख्ने तयारी छ। सीमा विवाद समाधानका लागिपनि दुई देशको संयन्त्र बनाएर टुंगो लगाउने तयारी छ ।


