काठमाडौं । नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी तथा सामुदायिक अगुवा प्रमेझ (पीजे) श्रेष्ठ Pramej (Pjay) Shrestha लाई अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (ACU) को २०२६ ग्लोबल कनेक्सन एलुम्नी अवार्ड प्रदान गरिएको छ।
अस्ट्रेलिया र नेपालबीच व्यवसाय, सार्वजनिक जीवन तथा सामुदायिक सेवामार्फत सम्बन्ध मजबुत बनाउन योगदान पुर्याएको भन्दै श्रेष्ठलाई उक्त सम्मान दिइएको हो। उनी Digital Consulting Ventures का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्।
श्रेष्ठ सन् २०१९ मा अस्ट्रेलियाको संघीय निर्वाचनमा प्रमुख राजनीतिक दलबाट उम्मेदवार बन्ने नेपाली मूलका पहिलो व्यक्ति बनेका थिए। उनले युवा नेपाली–अस्ट्रेलियालीलाई मार्गदर्शन गर्ने तथा व्यवसाय, सरकार र समुदायबीच सहकार्य बढाउने कामसमेत गर्दै आएका छन्। नेपालमा सन् २०२६ मा आएको बाढीका बेला पनि उनले अस्ट्रेलियास्थित नेपाली समुदायसँग समन्वय गर्दै राहत तथा स्रोत व्यवस्थापनमा योगदान दिएका थिए। उनको योगदानलाई अस्ट्रेलियाली संसद् र न्यू साउथ वेल्सको संसद्मा समेत प्रशंसा गरिएको थियो।
सन् २०१५ मा ACU बाट कमर्समा स्नातक गरेका श्रेष्ठले विश्वविद्यालयका शिक्षक तथा करिअर टिमले आफ्नो क्षमता पहिचान गर्न सहयोग गरेको बताएका छन्।
प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार


