२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच आधा घन्टा ‘वान टु वान’ वार्ता

काठमाण्डौँ ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच सोमबार भेटवार्ता भएको हो ।

नेपाली भ्रमण टोलीमा रहेका एक सदस्यका अनुसार करिब ४० मिनेट द्विपक्षीय भेटघाट र आधा घन्टा वान टू वान वार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् । रुस–नेपाल हवाइ उडान सिधै गर्नेगरी प्रधानमन्त्री ओलीले प्रस्ताव राखेको प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सदस्यले बताए ।

ती सदस्यका अनुसार भेटवार्तामा पुटिनले दुई देशबिच सन् १९५६ मा स्थापित कूटनीतिक सम्बन्ध ऐतिहासिक रूपमा सुदृढ रहेको स्मरण गराए। पुटिनले भने,। ‘यदि मलाई ठिक याद छ भने, हामीले सन् १९५६ मा हाम्रा देशहरूबिच कूटनीतिक सम्बन्ध स्थापना गरेका थियौँ। अर्को वर्ष हाम्रो एक प्रकारको वार्षिकोत्सव पनि छ। तर आज पनि हामी हाम्रो सहकार्यको इतिहासका उपलब्धिहरूलाई हेर्न सक्छौँ। मैले यो भन्नै पर्छ कि हाम्रो कहिल्यै कुनै समस्या भएन ।’

भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबिचको भेटमा व्यापार–लगानी, अन्तर्राष्ट्रिय मामिलामा सहकार्य, क्षेत्रीय तथा बहुपक्षीय समन्वय र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस