काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हरिसिद्धीमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको घटनालाई राजनीतिकरण गर्न खोजिएको दाबी गरेका छन्।
गोदावरीको सनराइज हलमा जारी एमाले विधान महाधिवेशनको दोस्रो दिन सम्बोधन गर्दै ओलीले बालिकालाई सामान्य ठक्कर मात्र लागेको भन्दै पार्टीले सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका हुन्।
‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घट्नाप्रति दुःख व्यक्त गर्दछु। कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन्। तर भइदियो’, ओलीले भने।
उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ‘भवितव्य घटना भएको, त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी भएका छौं’ भने।
घाइते बालिकालाई बीएण्डबी अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तर मन्त्री राना चढेको गाडीले ठक्कर दिएपछि स्थानीय आक्रोशित बनेर सडक अवरुद्ध गरेका थिए।
भिडिओ फुटेजअनुसार बालिका जेब्रा क्रसिङ नजिक बाटो काट्न खोज्दा ठक्कर खाएकी थिइन्। सडकमा लडेकी बालिकालाई छाडेर गाडी रोक्नै नरोकी अघि बढेको दृश्य पनि देखिएको छ।

