काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्किन पाउने विषयमा संविधानले कुनै प्रतिबन्ध नलगाएको बताएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई अस्वाभाविक नठान्न आग्रह गरे।
‘संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन। त्यसैले उनीहरूको सक्रियता वैधानिक अधिकारकै प्रयोग हो’, देउवाले भने।
संविधान संशोधनबारे उठेका प्रश्नमा उनले ‘दुईतिहाइ बहुमत बिना संशोधन सम्भव छैन, त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ तर तत्काल कुनै निष्कर्ष निक्लिएको छैन’ स्पष्ट पारे।
उनले सरकार परिवर्तन वा मन्त्री फेरबदलको सम्भावना नरहेको पनि बताए। सामाजिक सञ्जाल बन्दबारे भने उनले ‘अदालतले नियमन गर्न भनेको हो, बन्द होइन’ भने।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न खोजिरहेको बेला सत्ता साझेदार कांग्रेसका सभापति देउवाले यस्तो बयान दिएका हुन्।

