२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

भाइरल बन्यो सिसन-श्रृंखला काण्ड : बहिनी भन्दै लेखेको सन्देश छताछुल्ल

काठमाडौं। पूर्व मिस नेपाल श्रृंखला खतिवडामाथि उठेको ‘५० हजार डलर खर्च’ सम्बन्धी विवाद अहिले पनि नेपाली सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ। ‘जेनजेड आन्दोलन’कै बीचमा श्रृंखलामाथि विभिन्न आरोप र साइबर आक्रमण भइरहेका बेला उनले भिडियोमार्फत स्पष्ट पारिन्— आफूले प्रतियोगिताबाट २० हजार डलर मात्र पाएको र त्यसैलाई विकास परियोजनामा खर्च गरेको।

यसैबीच, यो विषयलाई सार्वजनिक रूपमा उठाउने व्यक्तिका रूपमा चर्चामा आएका श्रृंखलाका पूर्वप्रेमी, चलचित्र निर्माता सिसन बानियाँले आत्मालोचना गरेका छन्। उनले लामो इन्स्टाग्राम स्टोरीमार्फत श्रृंखलासँग माफी माग्दै भनेका छन्— ‘त्यो क्षणमा इमोसनमा बगेको थिएँ। अनावश्यक रूपमा कुरा चर्काइयो। अबदेखि त्यस्तो गल्ती नदोहोर्याउने प्रतिज्ञा गर्छु।’

सिसनले श्रृंखलालाई ‘बहिनी’ भनेर सम्बोधन गर्दै आफूले कुनै व्यक्तिगत आक्रमण गर्न खोजेको नभएको पनि बताए। तर उनले अझै पनि सो रकम कुन हिसाबले प्रयोग भएको हो भन्नेबारे स्पष्ट जवाफ आउनुपर्ने दाबी गरे। सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू भने उनको माफीलाई दुई धारमा बाँडिएका छन्— कसैले सिसनको आत्मालोचना स्वागत गरेका छन् भने कसैले यसलाई ढाकछोप गर्ने प्रयास मात्र भनेका छन्।

यसअघि श्रृंखलाले मिस वर्ल्ड प्रतियोगितामा प्रस्तुत गरेको सामाजिक प्रकल्पले अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा पाएको थियो। तर पछिल्लो विवादले उनीमाथि अनावश्यक दबाब सिर्जना गरेको भन्दै समर्थकहरूले श्रृंखलाप्रति एकताको सन्देश दिइरहेका छन्।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस