२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

जेनजी प्रदर्शन: प्रहरीले ‘टीओबी’ कमान्डरबारे सबै रहस्य बाहिर ल्यायो

काठमाडौं । जेनजी प्रदर्शनमा ‘टीओबी’ टिसर्ट लगाएर आतंक मच्चाउने कमान्डर तेन्जिङ दावा लामाको आर्थिक अवस्था सामान्य रहेको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नागरिकता, राहदानी, लिखतसम्बन्धी मुद्दा र लागुऔषध प्रकरणमा थुनामा रहे पनि तेन्जिङको जीवनस्तर सामान्य देखिएको छ।

सन् २००७ सम्म उनी आफ्नो सौतेनी फूपूदिदी कुङगा डोल्माले पालनपोषण गरेकी थिइन्। सन् २०१७ मा तेन्जिङले बौद्धमा ‘टीओबी ट्याटु हाउस’ खोले, जसमा डोल्माले ४० हजार लगानी गरिदिएकी थिइन्। त्यसबाट प्राप्त आम्दानीले उनी आफ्नो दैनिकी चलाउँथे। पछिल्ला तीन वर्षदेखि डेराको भाडा समेत डोल्माले नै तिरेकी थिइन्।

भदौ २३–२४ को जेनजी प्रदर्शनमा तेन्जिङको समूहले ३१ जना सदस्य र २० वटा मोटरसाइकलमा सहभागिता जनाउँदै उच्छृङखल गतिविधि गरेको थियो। प्रहरीले १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

टीओबी (‘तिब्बतियन ओर्जिनल ब्लड’) समूह २०२४ जुन १० मा स्थापना भएको हो। ५७ जना सदस्य रहेको यस समूहमा सुरेन्द्र गुरुङ ‘हाकिम’लाई रोल मोडेल मानिन्छ। समूहले सामाजिक सेवा र घुम्ने उद्देश्यका लागि गठन भएको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस