२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

जेनजी प्रदर्शन : उच्चस्तरीय आयोगलाई रविले दिए बयान

काठमाडौँ — गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनासम्बन्धी अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग उच्चस्तरीय जाँचबुझ आयोगले बुधबार बयान लिएको छ।

लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गरिएको हो। आयोगले जेनजी आन्दोलनका क्रममा उनी नख्खु कारागारबाट बाहिर निस्कनुपर्ने परिस्थितिबारे प्रश्न गरेको बुझिएको छ।

सहकारी रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने भदौ २४ गतेको आन्दोलनका समयमा असुरक्षाका कारण कारागार छोडेका थिए। तर उनले भने कारागार प्रशासनकै पत्रका आधारमा घर पठाइएको दाबी गर्दै आएका छन्।

यसअघि आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो। आयोगले आन्दोलनका क्रममा भएका घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस