२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

काठमाडौं बसपार्क घटनामा नयाँ ट्विस्ट : ५ सय सापटीको रहस्य खुल्यो, भान्से समातिए

काठमाडौँ । टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै शनिबार तन्नामा बेरिएको अवस्थामा भेटिएको शवबारे अनुसन्धानले नयाँ तथ्य उजागर गरेको छ। सुरुमा तेस्रो लिंगीको शंका गरिए पनि त्रिवि शिक्षण अस्पतालले प्रारम्भिक जाँचपछि शव महिलाको भएको पुष्टि गरेको हो। पोस्टमार्टम रिपोर्ट भने अझै आइसकेको छैन।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। उदयपुरका सूर्य मगर नामका युवक पक्राउ परेका हुन्, जो बसपार्क क्षेत्रको एक होटलमा भान्सेका रूपमा काम गर्दै आएका थिए। पाँच सय रुपैयाँ सापटी फिर्ता माग्दा विवाद उत्पन्न भई सूर्यले महिलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

मृतक महिलाको पहिचान खुलाइने प्रयास जारी छ। पक्राउ परेका मगरका अनुसार महिलाले आफू रुकुम घर भएकी बताएकी थिइन्। घटना सार्वजनिक गर्न काठमाडौँ प्रहरी परिसरले आज दिउँसो पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस