प्रकाश काफ्ले काठमाडौं ।नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण कुनै पनि दलले स्पष्ट बहुमत पाउन कठिन हुने बताएका छन। उनले मतदाता भएर मतदान सकिसकेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मुलुकले चुनावपछि तत्काल स्थिर सरकार पाउने सम्भावना कम भएको उल्लेख गरे। पाण्डेले यो निर्वाचनलाई देशको राजनीतिक परिस्थितिको मूल्यांकन गर्ने एउटा महत्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै, नेपालको ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक प्रणालीमा बहुमत ल्याउनु असम्भव जस्तो भएको बताए। उनले यसलाई “फलाम जिब्रोले चपाउने जस्तो कठिन” रहेको बताए।छिमेकी बङ्गलादेशको उदाहरण दिँदै पाण्डेले भने कि त्यहाँ जनमत सङ्ग्रहसँगै निर्वाचन गरिएकोले सरकार र संसदको संरचना स्पष्ट भएको थियो। तर नेपालमा दलहरू केवल सरकार बनाउने र प्रधानमन्त्री तय गर्ने प्रतिस्पर्धामा मात्र केन्द्रित रहेकाले संविधानका मुख्य एजेण्डा पछाडि परेको बताए।
अन्ततः उनले प्रारम्भिक आशंकाका बाबजुद सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गरे।

