२०८३ जेष्ठ ९ गते शनिवार | 2026 May 23rd Saturday

विष्णु प्रसाद पौडेल र विश्वदीप पाण्डेबीच वाम एकताको छलफल

प्रकाश काफ्ले / काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता विश्वदीप पाण्डे बीच काठमाडौंमा भेटवार्ता भएको छ। भेटका क्रममा पछिल्लो राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र कम्युनिस्ट शक्तिहरूबीच सम्भावित ध्रुवीकरणका विषयमा विस्तृत छलफल भएको बताइएको छ। दुवै नेता रुपन्देही–२ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए। तर उक्त क्षेत्रमा सुलभ खरेल विजयी भएका थिए। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले देशको वर्तमान राजनीतिक अवस्थाले कम्युनिस्ट, वामपन्थी, प्रगतिशील र अग्रगामी शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता बढेको संकेत गरेको बताए। उनले यस्तो सहकार्यले राजनीतिक स्थायित्व र नयाँ वैकल्पिक दिशा दिन सक्ने धारणा व्यक्त गरे। छलफलका क्रममा पार्टीभित्र पुस्तान्तरणको विषय पनि उठेको पाण्डेले बताए। उनका अनुसार कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेताहरूलाई सम्मानजनक रूपमा संरक्षक वा सल्लाहकारको भूमिकामा राख्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने विकल्पबारे पनि प्रारम्भिक विचार–विमर्श गरिएको थियो। साथै पार्टी संरचनामा युवाहरू र महिलाको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा पनि सहमति खोज्ने प्रयास भएको उनले बताए।

त्यस्तै, भविष्यमा सरकारमा पुग्दा पद तथा अवसरहरूको वितरण योग्यता र क्षमताको आधारमा पारदर्शी ढंगले गरिने व्यवस्था पार्टी विधानमै स्पष्ट गर्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ। सांसद, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिको पद कति पटकसम्म सम्हाल्न पाउने भन्ने विषयलाई पनि विधानमै स्पष्ट रूपमा उल्लेख गर्ने प्रस्तावबारे छलफल भएको पाण्डेले बताए।

उनले पार्टीको नाम “समाजवादी” धारासँग जोडेर अघि बढेमा २०७४ सालजस्तै कम्युनिस्ट शक्तिहरू पुनः प्रमुख राजनीतिक शक्ति बन्न सक्ने सम्भावना रहेको सुझाव आफूले एमाले उपाध्यक्ष पौडेललाई दिएको पनि जानकारी दिए।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस