२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

गगन थापाले सभापतिबाट राजीनामा दिँदै

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि नेपाली कांग्रेसभित्र आन्तरिक छलफल तीव्र भएको छ । यसै क्रममा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच भेटवार्ता भएको छ । नयाँ बानेश्वरमा बेलुकीदेखि सुरु भएको दुई शीर्ष नेताबिचको छलफल जारी रहेको स्रोतले जनाएको छ । भेटका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने बताएका छन् ।

थापाले आफूले पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका छन् । पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु, उनले छलफलमा उपसभापति शर्मासँग भनेका छन् । तर उपसभापति शर्माले भने सभापतिले तत्काल राजीनामा नदिन सुझाव दिएका छन् । उनले निर्वाचनको परिणामलाई केवल व्यक्तिको कमजोरीका रूपमा नभई समग्र परिस्थितिको परिणाम र साझा अपनत्वको कुरा भएको बताएका छन् । यो केवल रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो । तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति, शर्माले भनेका स्रोत बताउँछ ।

नयाँ कार्यसमिति गठन भएको पाँच दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनमै निर्वाचन सम्पन्न भएको अवस्थामा आएको परिणामलाई लिएर राजीनामा गर्न नपर्ने बरु सूक्ष्म रूपमा समीक्षा गरेर स्थिति सम्हाल्दै अघि बढ्नुपर्ने उनको धारणा छ । यो परिणाम विगतको स्थितीले हो । हाम्रो ५ दिनको भूमिकाले होइन शर्माले गगनलाई यसरी सम्झाएका छन् ।

गगन थापाले सभापतिबाट राजीनामा दिँदै

 

प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस