२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

प्रतिनिधि सभा निर्वाचन मतगणना: यी क्षेत्रमा एमालेको अग्रता

प्रकाश काफ्ले/काठमाडौं प्रतिनिधि सभा निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका धेरै शीर्ष नेताहरू प्रतिस्पर्धामा पछि परेको देखिएका छन्। विशेषगरी पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौं क्षेत्रमा निकै पछाडि परेका छन्। अद्यावधिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले २६ हजार ६२ मत प्राप्त गर्दा ओलीले ६ हजार ७९४ मत मात्रै ल्याएका छन्।

एमालेका १९ पदाधिकारीमध्ये १२ जना यस पटक चुनावी मैदानमा छन्। तर हालसम्मको मतगणनाले उनीहरू अधिकांश क्षेत्रमा प्रतिस्पर्धीभन्दा पछि देखिएका छन्। पार्टीका सचिव राजन भट्टराई भने पराजित भइसकेका छन् भने अन्य पदाधिकारीहरू पनि उल्लेखनीय अग्रता लिन सकेका छैनन्।

यद्यपि केही क्षेत्रमा एमालेका उम्मेदवारहरूले अग्रता कायम गरिरहेका छन्। भोजपुरमा एमालेका शेरधन राईले ३ हजार ९ मतसहित अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका ध्रुवराज राईले २ हजार ५१४ मत प्राप्त गरेका छन्।

ताप्लेजुङमा एमालेका क्षितिज थेबे ६ हजार ५८२ मतसहित अगाडि छन् भने नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ६ हजार १९२ मत ल्याएका छन्।

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले ७ हजार ६५० मतसहित अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका सुदीप राईले ६ हजार २४३ मत प्राप्त गरेका छन्।

त्यस्तै धनकुटामा एमालेका राजेन्द्रकुमार राईले ८ हजार १५४ मत ल्याएर अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका सानबहादुर राईले ६ हजार ७८४ मत प्राप्त गरेका छन्।

उदयपुर–१ मा एमालेका अम्बरबहादुर रायमाझी २८१ मतले अगाडि छन्। उनले ३ हजार ७७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङले २ हजार ७९६ मत प्राप्त गरेका छन्।

मधेस प्रदेशमा भने हालसम्म एमालेले एक मात्र क्षेत्रमा अग्रता लिइरहेको छ। धनुषा–१ मा एमालेका रामचन्द्र मण्डलले ४४१ मत ल्याएर अग्रता कायम गर्दा नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवले २९७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस